Logo

Banner-news

प्याब्सनको परिपत्रमा टेलिकममाथि आक्षेप, कम्पनी भन्छः गैरजिम्मेवार रुपले दोषारोपण


GDP Nepal
   १९ श्रावण २०७७, सोमबार


काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को इ–लर्निङ प्याकेजसम्बन्धी एक परिपत्रप्रति नेपाल टेलिकमले आपत्ति जनाएको छ । प्याब्सनसँग छलफल जारी रहेकै बेला अर्को कम्पनीसँग सम्झौता गरेको तथा सो क्रममा टेलिकमप्रति दुरासय झल्कनेगरी मातहतका विद्यालयमा परिपत्र जारी गरेको टेलिकमको भनाइ छ ।

टेलिकमका अनुसार प्याब्सनले कम्पनीसँग सहकार्य गर्न पत्राचार गरेपश्चात विभिन्न चरणमा छलफल भएको थियो । यस कम्पनी र संगठनबीच भएको सकारात्मक छलफल पश्चात तत्कालको लागि कम्पनीले उपलब्ध गराइरहेको ई–शिक्षा प्याकेज सम्बन्धी विवरण संगठनले आफ्नो वेबसाइटमा समेत प्रकाशित गरेको थियो । साथै अनलाइन शिक्षाको लागि मात्र उपयोगी हुने डाटा प्याकेज सम्बन्धमा पनि कम्पनी सकारात्मक भई थप छलफल भइरहेको थियो ।

कम्पनीले भनेको छ– विश्वभरी नै कोभिड–१९को कारणले उब्जिएको विषम परिस्थितिमा मुलुकभर पुन पठनपाठनको वातावरण तयार गर्न कम्पनीले महत्वपूर्ण पहल तथा भूमिका निर्वाह गरिरहेको अवस्थामा सो संगठनसँगको छलफल बमोजिम नै कम्पनीले सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्याइसकेको थियो । सो अवस्थामा अनपेक्षित रुपले प्याब्सनले कम्पनीलाई कुनै जानकारी नगराई मिति साउन १५ गते ई–लर्निङ को प्याकेज सुविधा सम्बन्धमाु भन्ने परिपत्र आफ्नो वेबसाइटमा राखेको छ र जसमा टेलिकममाथि आक्षेप लगाइएको छ ।

कम्पनीसँगको सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावली सहितको उक्त परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको जनाइएको छ । “आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति कम्पनी असहमती व्यक्त गर्दछ,” टेलिकमले भनेको छ ।

टेलिकमले महामारीका कारण उब्जिएको विषम परिस्थितिमा सहज र सुलभ रुपले शिक्षा आदान÷प्रदान गर्नका लागि ई–शिक्षा प्याकेज गत वैशाख १४ गतेदेखि कार्यान्वयनमा ल्याएको छ । अप्रत्यासित रुपले बिथोलिएको शैक्षिक वातावरणमा विद्यार्थी र शिक्षकलाई पुनः जोड्न यो प्याकेजले सेतुको काम गरेको उसको भनाइ छ । यस प्याकेजको प्रयोग गरी हाल मुलुकभरका ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थी र शिक्षकहरुले अनलाइन कक्षामार्फत नियमित अध्ययन र अध्यापनका क्रियाकलाप सुचारु गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

अनलाइन अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरुमध्ये कम्पनीले विद्यार्थी र शिक्षकमाझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरु उपयोग गर्न सकिने गरी ५ सय रुपैयाँ मा १८ जिबी डाटा ई–शिक्षा प्याकेजमार्फत उपलब्ध गराइरहेको छ ।

“कम्पनीका ग्राहक तथा अनलाइन अध्ययनका लागि पहल गरी प्रतिबद्ध रहेका शैक्षिक संस्था तथा विद्यार्थीवर्गप्रति आभार व्यक्त गर्दै जस्तोसुकै विषम परिस्थितिमा पनि कम्पनीले आफ्ना सेवासुविधाहरु सदा झैं जिम्मेवारीपूर्वक उपलब्ध गराइरहने प्रतिबद्धता समेत ब्यक्त गर्दछ,” कम्पनीका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : १९ श्रावण २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह